विश्वकप फुटबलमा स्विट्जरल्यान्डको जित


काठमाडौं । फिफा विश्वकप फुटबलमा स्विट्जरल्यान्डले जित निकालेको छ । आजबिहान भएको खेलमा बोस्निया एण्ड हेर्जेगोभिनालाई ४–१ गोलले हराउँदै स्विट्जरल्यान्डले नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

लस एन्जल्स स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन जोहान मान्जाम्बीले दुई गोल गर्दा रुबेन भार्गास र ग्रानिट जाकाले समान एक/एक गोल थपे ।

बोस्नियाको लागि इर्मिंन माह्मिकले सान्तवना गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ८० औँ मिनेटमा तारिक मुहारेमोभिक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोस्निया एण्ड हेर्जेगोभिना १० खेलाडीमा समेटिएको थियो । चार मिनेटपछि भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए ।

९० औँ मिनेटमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० गोलको अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा माह्मिकले बोस्नियाको लागि सान्तवना गोल गरे ।

यस्तै इन्जुरी समयकै सातौँ मिनेटमा जाकाले गोल गर्दै स्विट्जरल्यान्डलाई ४–१ गोलको जित दिलाएका हुन् । जितसँगै स्विट्जरल्यान्ड २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १ अंक जोडेको बोस्निया तेस्रो स्थानमा रहेको छ ।