हङकङलाई पराजित गर्दै एसियाली खेलकुद छनोटको उपाधि नेपाललाई


काठमाडौं । नेपालले एसियाली खेलकुद छनोटको फाइनलमा हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको छ । वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार नेपाल १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो ।

१८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १४ रन बनाएको अवस्थामा बर्षाले खेल रोकिएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले फेरि एकपटक उत्कृष्ट प्रदर्शनका साथ अर्धशतक बनाए । ४० बलमा ८ चौका र ३ छक्कासहित उनले ६५ रन बनाए ।

अर्का ओपनर आसिफ शेख खाता नखोली आउट भएपछि कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। रोहित ३५ र एक सयौं टी–२० आई खेलिरहेका कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहँदा खेल रोकिएको थियो ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।