काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
अहमदाबादमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर ले ३३ बलमा ५० रन जोडे ।
हैदराबादका लागि प्रफुल हिङ्गे र साकिबले समान २ विकेट लिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुवातमै दबाबमा पर्यो ।
पावरप्ले सकिँदासम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो । हैदराबादको इनिङ्स लामो समय टिक्न सकेन र टोली १४.५ ओभरमा मात्र ८६ रनमा अलआउट भयो ।
टोलीका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए । गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान ३ र प्रसिद्ध कृष्णा ले २ विकेट लिए ।
यो जितसँगै गुजरातले १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै अहमदाबादमा सन् २०२३ यता हैदराबादविरुद्ध गुजरातको लगातार चौथो जित हो ।

प्रतिक्रिया