विराट गोल्डकपको उपाधि झापा–११ लाई


मोरङ। विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ।

आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो। उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफि प्राप्त गरेको छभने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ।

फाइनल खेलका ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल भए। उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरे। यसैगरी सम्राटका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइ ५१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक झापाका विशाल सुनार र उत्कृष्ट प्रशिक्षकमा सन्तोष बस्नेत घोषित भइ १५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा खेल सञ्चालन हुँदै आएको थियो। कोशी प्रदेशका सभामुख अम्बरवहादुर विष्ट, प्रदेशका पर्यटन, वन, तथा वातावरणमन्त्री भीम पराजुली, विराटनगर महानगर प्रमुख नागेश कोइराला र ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलगायतले विजेता एवं उपविजेतालाई ट्रफि एवं नगद पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो।