खजुरा गोल्डकपको उपाधि जष्ट जोन एफसीलाई


नेपालगन्ज । बाँकेको खजुरामा आइतबार सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ । 

खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा जष्ट जोनले जेविएम क्लब लखनउ, भारतलाई ४–० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । जष्ट जोनका लागि कलव कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे । 

प्रतियोगितामा जष्ट जोनका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दी म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दी पीस घोषित भए ।

यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने । उपाधिसँगै जष्ट जोनले  सात लाख तथा उपविजेता जेविएमले रु चार लाख प्राप्त गरे । गत चैत ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।