वैशाख ८ गतेदेखि भैरहवामा खुकुरी टी–२० क्रिकेट हुने


रुपन्देही । रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी–२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

आइतबार पत्रकार सम्मेलन गरी आयोजकले वैशाख १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा तीन भारतीयसहित १६ वटा समूहको सहभागिता रहने जानकारी दिए ।

क्लबका सहसचिव एवं प्रतियोगिताका संयोजक नन्दन श्रेष्ठले आगामी  दिनमा अझ सशक्त ढङ्गबाट क्रिकेटको विकासका लागि नयाँ आयाम प्रस्तुत गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । “प्रतियोगिताबाट यस क्षेत्रमा मात्र नभई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादनमा टुवा पु¥याउने विश्वास छ”, उनले भने, “खुकुरी क्लबले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन छ ।”

प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार १११, उपविजेतालाई रु ५५ हजार ५५५, म्यान अफ दि सिरिजलाई रु १५ हजार, वेष्टबलर र वेष्ट ब्याटस्म्यानलाई रु पाँच हजार ५५५ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु एक हजार ५०० प्रदान गरिने क्लबका सल्लाहकार धर्मराज गिरीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका–१ का वडाध्यक्ष उज्जवल पोखरेलले लुम्बिनी खुकुरी क्लबले क्रिकेटको विकासमा सहयोग गरिरहेको बताउँदै यसले स्थानीय खेलतडीलाई अवसर प्रदान गरिरहेको धारणा राखे ।

क्रिकेटसहित विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्न रकम आवश्यक भएको जानकारी पाएपछि क्लबले आयोजना गर्न लागेको क्रिकेटका लागि वडा कार्यालयबाट रु पाँच लाख सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले प्रतियोगिता सञ्चालन गर्न करिब रु ११ लाख ५० हजार खर्च हुने बताए । सिद्धार्थनगर–१ वडा कार्यालयको सहयोग र रुपन्देही क्रिकेट सङ्घको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने लुम्बिनी खुकुरी क्लबका सचिव ओजश शर्माले जानकारी दिए ।