कटारी । उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर ‘गोल्डकप नकाउट फुटबल’ प्रतियोगितामा चात्यासा फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झापाले आयोजक कटारी ११ लाई ३–० गोल अन्तरको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
झापाका लागि सौरभ लिम्बूले पाँच मिनेट, विवेक पौडेलले १० मिनेट र पुजन चौधरीले ७०औँ मिनेटमा गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ झापाका सौरभ लिम्बू घोषित भए । उनलाई कटारी नगरपालिकाका पूर्वउपप्रमुख भिमकुमारी राउतले नगद पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गरिन् ।
कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी, उपविजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आठ टोली सहभागी प्रतियोगिता आगामी वैशाख ५ गते सम्पन्न हुने समितिका अध्यक्ष दीपक राईले जानकारी दिए । प्रतियोगितामा बिहीबार जष्ट जोन फुटबल क्लब, नाइजेरिया र शहलेस फुटबल क्लब सिरहाबीच अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।
नाइजेरिया र सिरहाको विजयी टोलीले फाइनलमा उपाधिका लागि झापासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया