जुम्ला । जिल्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ ।
कर्णाली खेलकुद क्लब जुम्लाको आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथन दौड प्रतियोगितामा सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए ।
कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सातौँ संस्करणको प्रतियोगिता आयोजक गर्न लागिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न देशका धावकहरू सहभागी हुनेछन् ।
प्रतियोगिताअन्तर्गत विभिन्न विधामध्ये पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगीव्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्ने जनाउँदै उनले दर्ता शुल्क पाँच सय तोकिएको बताए ।
क्लबका अध्यक्ष शाहीका अनुसार १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकालाई दर्ता शुल्क निःशुल्क गरिएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि पाँच हजार दर्ता शुल्क क्लबले निर्धारण गरेको छ ।
पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई पाँच हजार, द्वितीयलाई रु तीन हजार र तृृतीय हुनेलाई दुई हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए । दश किलोमिटरतर्फ प्रथम हुनेलाई १० हजार, द्वितीयलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार पुस्कार निर्धारण गरिएको छ ।
त्यस्तै, ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, द्वितीय रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार, चौथो र पाँचौँलाई समान रु २० हजार पुरस्कारको व्यवस्थापन गरिएको क्लबका अध्यक्ष शाहीले उल्लेख गरे । प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म आफ्नो नाम दर्ता गर्नसक्ने व्यवस्था गरिएको कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।

प्रतिक्रिया