काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मधेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । शुक्रबार दिउँसो भएको खेलमा लुम्बिनी प्रदेशलाई २५ रनले हराउँदै मधेश प्रदेशले प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ९९ रन जोड्दा सबै विकेट गुमाएको हो । यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा अलआउट हुँदै १ सय २४ रन बनाएको थियो । जितसँगै मधेशले दुई अंक जोडेको छ ।
आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले हराएको हो । कर्णालीले दिएको १ सय ३० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो ।
वीरगञ्जमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोशीले ४३.४ ओभरमा अलआउट हुँदै १ सय ३० रन बनाएको थियो । जितसँगै सुदूरपश्चिम तीन खेलबाट चार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट एक अंक जोडेको कर्णाली नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया