टेनिस टोली श्रीलङ्का प्रस्थान


काठमाडौँ । आइटिएफ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलङ्काको कोलम्बो प्रस्थान गरेको छ ।

यही मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहनेछ । छात्रतर्फ विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । सन्तोष श्रीलङ्कामै छन् ।

प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस सङ्घले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार आयोजित एक कार्यक्रममा बिदाइ गरे ।