आर्मीका रोकायलाई शान्ति म्याराथनको उपाधि


भैरहवा। लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन्।

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै सुशीलकुमार शाहीले २ घण्टा १८ मिनेट १६ सेकेन्डमा दौड पूरा गरी हात पारेका छन्। तेस्रो स्थान आर्मीका धावक नरेन्द्रसिंह राउतले प्राप्त गरेका छन्।

प्रतियोगिताको चौथो स्थान चिनियाँ धावक वाङ चीले २ घण्टा २१ मिनेट ५ सेकेन्डमा, पाँचौँ स्थान केन्याका धावक जुलियस मुरेयुकी वाहमले २ घण्टा २३ मिनेटमा दौड पूरा गरी प्राप्त गरेका छन्।

२१ किलोमिटर हाफ म्याराथनमा पहिलो स्थान त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा १७ मिनेट १० सेकेन्डमा, दोस्रो स्थान धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा १८ मिनेट ४० सेकेन्डमा, तेस्रो स्थान आर्मीकी निशा सार्कीले १ घण्टा १९ मिनेट १९ सेकेन्डमा हासिल गरेकी छन्। चौथो स्थान आर्मीकी सुनसरी रोकायाले १ घण्टा २१ मिनेट ४६ सेकेन्डमा, पाँचौँ स्थान चिनियाँ धाविका रुवान सियाङले १ घण्टा २२ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेकी छन्।

प्रतियोगिताका प्रथम हुनेलाई तीन लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई दुई लाख ५० हजार र तेस्रो हुनेलाई एक लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो।

त्यसअघि नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य-सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनलगायतले पाँच किलोमिटरको ‘वाक-थ्रु’ कार्यक्रमको उद्घाटन गरेका थिए।