कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गण्डकी प्रदेशका पालिकाहरूका बीच अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गाउँपालिकाको केन्द्र लाहाचोकमा यही चैत ११ देखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार स्थानीयस्तरबाट देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।
‘देशका लागि आवश्यक समक्ष खेलाडी उत्पादन गर्ने पालिकाबाट नै हो । प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार दुई लाख ट्रफी र मेडल रहेको छ । उपविजेताले एक लाख पुरस्कार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद २५ हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।
यसैगरी महिलातर्फ प्रथम पुरस्कार ६० हजार, द्वितीय पुरस्कार ३० हजार, ट्रफी मेडल रहेको छ । सेमिफाइनलमा उपविजेता दुई टिमले नगद १५–१५ हजार पुरस्कार पाउनेछन् ।
गाउँपालिकाले यस वर्ष छेलो हान्ने खेललाई समेत समावेश गरेको छ । छेलोतर्फ प्रथम पुरस्कार नगद १० हजार, द्वितीय पुरस्कार नगद पाँच हजार, तृतीयलाई नगद दुई हजार र सान्त्वनालाई नगद एक हजार रहेको छ । पुरुष छेलोतर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
प्रतियोगितामा पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगोअङ्कित खेलकुद पोशाक पुरस्कार प्रदान गरिने छ ।
पुरुष भलिबल खेलमा पालिकाभित्रको जनसुकै तह र स्तरका खेलाडी समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी एक जना समावेश गर्न सकिने गाउँपालिका खेलकुद विकास समितिका सदस्यसचिव हुमबहादुर गुरुङले बताए ।

प्रतिक्रिया