लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् ।
प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताए ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए । प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारूले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए ।
स्थापना दिवसका अवसरमा आयोजित प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएका छन् ।
प्रतियोगितामा अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव सात सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ दशमलव ६ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवराज बुढा ३६ मिनेट ५१ दशमलव नौ सेकेन्डमा तेस्रो स्थानमा रहे ।
त्यस्तै, तुलसीपुरका विशालकुमार महत ४० मिनेट ०४ दशमलव दुई सेकेन्डमा चौथो, गोरखाका सञ्जय श्रेष्ठ ४१ मिनेट १७ दशमलव तीन सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ दशमलव पाँच सेकेन्डमा छैटौँ स्थानमा रहे ।
महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ०३ दशमलव ०१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। कर्णालीकी कल्पना बुढा ५० मिनेट ३९ दशमलव ०३ सेकेन्डमा दोस्रो तथा जुम्लाकी सन्देवा बुढा ५२ मिनेट २४ दशमलव दुई सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।
जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ दशमलव एक सेकेन्डमा चौथो, सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ०६ दशमलव चार सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ दशमलव ६ सेकेन्डमा छैटौँ स्थानमा रहे ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु ३० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।

प्रतिक्रिया