तनहुँ । तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।
नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्छन् । यस खेल युवाहरूको रुचिको पहिलो रोजाइ बनेको खेलाडीहरू बताउँछन् । युवाहरू चार जनाको जोडी मिलाएर खेल्न सकिने र छोटो समयमा धेरै पसिना आउने भएकाले यस खेलमा युवाहरूको आकर्षण बढेको प्रशिक्षक तथा खेलाडी विपीन घलेले बताए ।
जिल्लाका स्थानीय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले हावापानी, घाम तथा अन्य समयमा पनि खेल्न सहज भएको खेलाडी एवं व्यास नगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारीले बताए । व्यास नगरपालिका– १ निवासी प्रदीप न्यौपानेले कार्यालय समयबाहेकको समयमा फुर्सद मिलाएर नियमित रूपमा ब्याडमिन्टन खेल्ने गरेको बताए ।
ब्याडमिन्टन प्रतियोगितामा युवाको आकर्षण बढेपछि यहाँ प्रतियोगितासमेत हुने गरेका छन् । ब्याडमिन्टन प्रतियोगितामा धेरै टिमको सहभागिताले यस खेलमा आकर्षण बढेको पुष्टि हुने खेलाडी रामकृष्ण क्षेत्रीले बताए । म्याग्दे गाउँपालिकाले थर्पुमा म्याटसहितको र धयरेमा कभर्डहल निर्माण गरी खेललाई निरन्तरता दिएको म्याग्दे गाउँपालिका– ४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया