काठमाडौँ । राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि सहयोग जुटाइदिएकोमा समर्थकहरुलाई धन्यवाद दिएकी छन् ।
सोमबार शल्यक्रियाका लागि सहयोगको अपील गरेपछि देश विदेशमा रहेका साम्बाका समर्थकहरुले आर्थिक सहयोग जुटाउने अभियान नै चलाएका थिए । उपचारका लागि आर्थिक सहयोग जुटेपछि मंगलबार सामाजिक संजालमार्फत साम्बाले समर्थकहरुलाई धन्यवाद दिएकी हुन् ।
उनले भनेकी छन्, ‘आज ’धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु । खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरि एकपटक हृदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।’
उनले आफ्नो उपचारका लागि एक करोड रुपैयाँ भन्दा बढी उठेको जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ ।’
साम्बाले सहयोगको अपील गरेपछि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यस्तै व्यक्तिगतरुपमा उनका सयौँ समर्थकले सहयोग गरेका थिए । त्यस्तै केएमसी शिक्षण अस्पतालले उनको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
यस्तो छ साम्बाको भनाई
आदरणीय समर्थकहरू,
आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनःस्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।
खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरि एकपटक हृदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।
मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।
म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाँडै नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु । यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।
म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।
मेरो तर्फबाट ‘धन्यवाद’ मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ ।
चाँडै मैदानमा भेटौंला ।

प्रतिक्रिया