काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि पहल भइरहेको बताएको छ ।
साम्बाले उपचारका लागि सामाजिक सञ्जालमार्फत सहयोग गर्न अपील गरेपछि एन्फाले साम्बालाई नेपाली फुटबलको गौरव र धरोहरको रूपमा उल्लेख गर्दै उनको चोट र उपचारसम्बन्धी विषयमा आवश्यक पहल भइरहेको बताएको हो ।
एन्फाका अनुसार साम्बा हाल न्युजिल्याण्डको वेलिंग्टन फीनिक्स एफसीबाट अष्ट्रेलियन ए–लिगमा व्यावसायिक फुटबल खेलिरहेका बेला घुँडामा चोट लागेको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यावसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने प्रचलन रहेको एन्फाले जनाएको छ ।
तर साम्बाले न्युजिल्याण्डभन्दा कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले यसका लागि सबै सम्भव पहल गरिरहेको जानकारी दिएको छ ।
एन्फाले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको र अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले व्यक्तिगत तवरबाट पनि आवश्यक समन्वय तथा ताकेता गरिरहेको जनाएको छ ।
साथै साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी कूटनीतिक समन्वयका लागि पनि पत्राचार गरिएको एन्फाले स्पष्ट पारेको छ ।


प्रतिक्रिया