काठमाडौँ । ‘नेपाल एपिएफ स्कुल कीर्तिपुरको २१औँ स्थापना दिवस’का अवसरमा सञ्चालन भएको तेस्रो नेपाल एपिएफ स्कुल अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैनिक आवशीय महाविद्यालय सल्लाघारीले जितेको छ ।
शुक्रबार भएको फाइनल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय सल्लाघारीले नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई ६–१ गोलको अन्तरले पराजित गरी विजयी भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उपाधि जित्न सफल सैनिक आवासीय महाविद्यालय सल्लाघारी तथा उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै स्थापना दिवसका अवसरमा नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई सहयोग पुर्याउने महानुभाव तथा सङ्घसंस्थालाई समेत कदरपत्र प्रदान गरे ।
कार्यक्रममा महानिरीक्षक अर्यालले स्थापना दिवसको गौरवपूर्ण अवसरमा विगतका प्रेरणादायी यात्राको स्मरण गर्दै नेपाल एपिएफ स्कुलले आगामी दिनमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै अझ उचाइको शिखरतर्फ अग्रसर हुन आग्रह गरे ।
उनले शैक्षिक तथा खेलकुदको क्षेत्रमा नेपाल एपिएफ स्कुल सक्षम, अनुशासित र विश्वासिलो संस्थाका रूपमा स्थापित हुँदै आएको चर्चा गर्नहुँदै सीमित स्रोतसाधनको अधिकतम तथा प्रभावकारी रूपमा प्रयोग गर्दै सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारणका सन्ततिहरूलाई गुणस्तीय, मूल्य आधारित र व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताए ।
महानिरीक्षक अर्यालले खेलकुद खेलमात्र नभई राष्ट्रको परिचयसमेत रहेको भन्दै खेलमैदानमा उत्रिएपछि जित तथा हारभन्दा पनि खेलाडीले देखाएको इमानदारिता, अनुशासन र राष्ट्रप्रेमप्रतिको भावले राष्ट्रको गरिमा बढाउने बताए ।

प्रतिक्रिया