लुम्बिनी र मधेस प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनलका खेल सम्पन्न भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको सेमिफाइनल प्रतिस्पर्धाबाट लुम्बिनी प्रदेश र मधेस प्रदेशको टोली फाइनल प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा आफ्नो यात्रा सुरक्षित गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रन बनायो । लुम्बिनीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गैँडाकोट मेयर्स ११ ले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सफल भयो ।

लुम्बिनीको जितका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५० बलमा छ छक्का र पाँच चौकाको मद्दतले ७४ रनको योगफल तयार पारे । यस्तै, प्रज्वल थापाले १९ बलमा तीन छक्का र दुई चौकासहित ३८, सम्राट भुसालले २३ बलमा एक छक्का र तीन चौकासहित २७ तथा दीपेश रोक्काले १० बलमा एक छक्का र एक चौकासहित १५ रनको योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ मेयर्स ११ का बलर चन्द्रकान्त पौडेलले चार ओभरमा २० रन खर्चिदै लुम्बिनीको चार विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । यस्तै, गौतम केसीले तीन तथा अपराजित पौडेलले एक विकेट लिए ।

गैँडाकोट मेयर्स ११ का लागि दीपक बोहोराले ४० बलमा एक छक्का र चार चौकासहित ४४ रनको योगफल तयार पारे । यसैगरी हरि चौहानले ३४ बलमा तीन छक्का र चार चौकासहित ४२, कप्तान गौरव विश्वकर्माले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । प्रतियोगितामा ब्याटिङमा उत्रिएका मेयर्स ११ का सन्नी विक, आरिफ खान, चन्द्रकान्त पौडेल र अपराजित पौडेल खाता नै नखोली पेबिलोन फर्किए ।

मेयर्स ११ लाई पाखा लगाउने क्रममा लुम्बिनीका सलाउद्दिन खानले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर पाँच विकेट लिन सफल भए । यस्तै, वीरबहादुर घर्ती मगरले तीन दशमलव पाँच ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिँदा कृष्ण कार्कीले एक विकेट लिए ।

आज नै भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध मधेस प्रदेश तीन विकेटले जित निकाल्दै फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशले दिएको १५३ रनको चुनौती मधेसले १८ दशमलव दुई ओभर खेल्दै सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

मधेस प्रदेशको जितका लागि पवन सर्राफले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ३४ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रनको योगफल तयार पारे । त्यस्तै मयन यादवले २७ बलमा तीन छक्का र दुई चौकासहित ३८, कप्तान अनिलकुमार शाहले १४ बलमा तीन छक्का र तीन चौकासहित ३३, अविशेख तिवारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।

मधेसका अविशेक कार्की, मोहमद आदिल आलम, हरिशङ्कर साह अङ्कविहीन रहँदै पेबिलोन फर्किए । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐरले तीन एवं मिलन बोहोरा, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले एक÷एक विकेट लिएका थिए ।

सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशका कप्तान किरन ठगुन्नाले २३ बलमा एक छक्का र चार चौकासहित ३४ रनको योगफल तयार पारे । त्यस्तै, रोशन साउदले २५ बलमा दुई छक्का र दुई चौकासहित २९, दीपक टमटाले २४ बलमा दुई छक्का र दुई चौकासहित २७, टेक रावतले १० बलमा एक छक्का र दुई चौकासहित २० रनको योगफल तयार पारे । लोकेन्द्र चन्द र कैलाश ऐरले १०÷१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् ।

बलिङतर्फ रञ्जित कुमारले चार तथा अविशेख तिवारीले तीन विकेट लिए । प्रतियोगिताको उपाधिका लागि मङ्गलबार बिहान मधेस प्रदेश र लुम्बिनी प्रदेश आमनेसामने हुने भएका छन् । जिल्लाकै ठूलो धन राशिको पाँचौं गैँडाकोट टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् ।