जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा


कास्की । जावलाखेल युवा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आइतबार भएको क्वाटरफाइनलको दोस्रो खेलमा अपि चर्च ब्वाइज युनाइटेडविरुद्ध ३–० गोलसहित जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।

जावलाखेलका लागि धर्वेन्द्र कुवँरले खेलको ४८औँ मिनेटमा खाता खोले । पेनाल्टी क्षेत्रबाट गरेको प्रहार चर्चका गोलकिपर दीप कार्कीले फुत्काएपछि गोल भएको थियो ।

विदेशी खेलाडी निकोलसले ८८औँ मिनेटमा अग्रता दोब्बर बनाए । इन्जुरी समयमा वैकिल्पक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सुजन गुरुङले गोल गरेपछि जावलाखेल फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

प्रतियोगितामा सोमबार मनाङ मस्र्याङदी क्लब र थण्डरबोल्ड नर्थ युनाइडेट सिक्कीमबीच खेल हुनेछ । यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोली सहभागी छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेताले सात लाख एक हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।