गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमिफाइनलमा


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो । १६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीले १९ दशमलव एक ओभर खेल्दै १० विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सफल भयो ।

सुदूरपश्चिमको सेमिफाइनल यात्रका लागि आशिष तिरुवाले ४७ रनको योगदान दिए । तिरुवाले २८ बलमा चार छक्का र तीन चौका प्रहार गरेका थिए । सुदूरपश्चिमका लागि टेक रावतले २४ बलमा दुई छक्का र तीन चौकासहित ३८, कप्तान किरन ठगुन्नाले २४ बलमा अविजित रहँदै दुई छक्का र एक चौकासहित २८, लोकेन्द्र चन्दले २५ बलमा तीन चौकासहित २० रनको योगदान दिए ।

यस खेलमा कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले दुई, श्रवन किस्कु, रोहन शाह, कृतिक कमातले एक÷एक विकेट लिए । कोशीका लागि कृतिक कमातले १७ बलमा एक छक्का र एक चौकासहित १९, गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८ रनको योगफल तयार पारे ।

कप्तान शाकिब हकले १९ बलमा १६, भूपाल दङ्गालले १८ बलमा १३ को योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले दुई÷दुई विकेट लिए । आजको खेलमा सुदूरपश्चिमका आशिष तिरुवा ‘म्यान अफ दी म्याच’ घोषित भए । सुदूरपश्चिम प्रदेशले उपाधि भीडन्तमा स्थान सुरक्षित पार्न सोमबार मधेस प्रदेशसँग सेमिफाइनल खेल्नेछ ।

जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाउनेछन् ।

आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’ले २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवं किपरले १५ हजारका दरले पुरस्कार पाउने छन् ।

‘बेस्ट क्याच अफ दी टुर्नामेन्ट’ले रु १० हजार एवं प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले रु पाँच हजार र नवप्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाले जानकारी दिए ।