काठमाडौँ । शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराकले उपाधि जितेको हो ।
नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लबले तेस्रो स्थान सुरक्षित गर्यो । प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको थियो । समापन समारोहमा प्रमुख अतिथि सोनाम ग्याल्जेन शेर्पाले विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद एक लाख ५० हजार प्रदान गरे ।
उपविजेता नाम्चे युथ क्लबले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद ८० हजार प्राप्त गर्यो भने तेस्रो स्थान हासिल गरेको खुम्जुङ युथ क्लबलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ४० हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलाडी प्रीति राईलाई विशेष सम्मान स्वरूप प्रमाणपत्र र नगद ५० हजार प्रदान गरियो ।
माघ २४ गते प्रतियोगिता सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो भने १६ खेल भएका थिए ।
प्रतियोगितामा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फराक, नाम्चे युथ क्लब, खुम्जुङ युथ क्लब; खुण्डे कम्युनिटी क्लब, ठमिछोवा फुटबल क्लब, ठामे, अमा डब्लम युथ ग्रुप, पाङ्बोचे; खुम्बू याम्बु शेर्पा समाज र खुम्बु युनाइटेड सहभागी भएका थिए ।
विगत १८ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगितामा सोलुखुम्बूको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जन्मिएर हाल काठमाडौँमा बसोबास गरिरहेका युवाहरूले सहभागिता जनाउँदै आएका छन् ।
यस वर्षको १५औँ संस्करणको आयोजना महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक १४ पिक्स एक्सपेडिसन प्रालि रहेको थियो भने सह–प्रायोजक हेली एभरेष्ट प्रालि तथा खुम्बू पासाङ ल्हामु गाउँपालिका रहेका थिए ।

प्रतिक्रिया