फागुन २ मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन


कास्की । पोखरामा यही फागुन २ गते २० औँ संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन हुने भएको छ ।

पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ भूतपूर्व खेलाडी मञ्चको आयोजनामा म्याराथन हुन लागेको हो । यस संस्करणमा २१ देशका ६० जना विदेशीसहित १५१ धावकले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनअन्तर्गतका विभिन्न २१ विधामा कुल १० हजार धावक दौडिने र मुख्य विधा अन्तरराष्ट्रिय म्याराथनमा भने नेपालसहित भारत, केन्या, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, नाइजेरिया, बेल्जियमलगायत देशबाट गरी १५१ जनाले नाम दर्ता गराएको जानकारी दिए । विभिन्न विधामा प्रतिस्पर्धात्मक रूपमा तीन हजार ५०६ र ‘रन फर फन’मा छ हजार ७०० जना दौडिने उनले बताए ।

यसैगरी म्याराथनकै ४५ वर्षभन्दा माथिको उमेर समूहमा २८ जना धावक सहभागी हुनेछन् । हाफ म्याराथन पुरुषतर्फ आठ विदेशीसहित १८८ जना, महिलातर्फ आठ विदेशीसहित १९० जना, ४५ वर्षभन्दा माथिको उमेर समूहमा एक विदेशीसहित २५ जनाले नाम दर्ता गराएको मञ्चका सचिव महेश पौडेलले बताए ।

म्याराथनमा प्रथम हुनेले चार लाख, द्वितीयले दुई लाख, तृतीयले एक लाख, चौथो हुनेले ५० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने उनले जानकारी दिए । यसैगरी अन्य विधाका च्याम्पियनले समेत नगद पुरस्कार पाउने छन् । मञ्चले पुरस्कार राशिमा मात्र १९ लाख ८९ हजार खर्च हुने जनाएको छ ।