इण्डो–नेपाल टी–२० च्याम्पियनसिपमा भद्रपुर सेमिफाइनलमा


झापा । मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक भद्रपुर क्रिकेट क्लब प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत आज भएको अन्तिम खेलमा भारतको क्रिकेट कोचिङ उपाध्याय एकेडेकी, नयाँ दिल्लीलाई आठ विकेटले पराजित गर्दै भद्रपुर दुई जितसहित अन्तिम चारणमा पुगेको हो ।

पहिले ब्याटिङ रोजेको नयाँ दिल्लीले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो । जवाफमा भद्रपुरले दुई विकेटको क्षतिमा १४ दशमलव तीन ओभरमा लक्ष्य पूरा गरेको थियो ।

ब्याटिङतर्फ भद्रपुरका कप्तान अङ्कित सुवेदीले ४३ बलमा सर्वाधिक ४३ रन बनाए भने नयाँ दिल्लीका तर्फबाट अङ्कित रावतले २९ बलमा सर्वाधिक ३९ रन बनाए । नयाँदिल्लीका आठ जना ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ भद्रपुरका लागि मुहमद आदिल आलमले चार ओभरमा २० रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने नयाँदिल्लीका तर्फबाट सबाकरिमले चार ओभरमा २४ रन खर्चिएर एक विकेट लिए ।

आइतबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । पहिलो खेल गण्डकी हिरोज क्लब पोखरा र भारतको ग्लोबल स्टार लखनउ तथा दोस्रो खेल फ्रेण्डस् युथ क्लब डडेलधुरा र स्नोलायन क्लब सिक्किम भारतबीच हुने आयोजकले जनाएको छ ।