पाँचौँ राष्ट्रिय स्की प्रतियोगितामा सिनियरतर्फ छेवाङ र जुनियरतर्फ शर्मा च्याम्पियन


मुस्ताङ। मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको छ । नेपाल स्की सङ्घको आयोजनामा आज सम्पन्न अल्पाइन स्कीअन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाइन स्की प्रतियोगितातर्फ दोलखाका साम्देनगेल्बु शर्मा च्याम्पियन बनेका छन् ।

यसैगरी महिलातर्फको अल्पाइन स्की प्रतियोगिताअन्तर्गत नुवाकोटकी सङ्गीता लामा र महिला जुनियर अल्पाइन स्कीतर्फ काठमाडौँकी नैना शाक्य च्याम्पियन बनेकी नेपाल स्की सङ्घले जनाएको छ ।

यसैगरी सिनियर अल्पाइन स्की प्रतियोगितामा काठमाडौँका समिप लामिछाने दोस्रो हुँदा दोलखाका पुण्डरिक पाण्डे तेस्रो भएका छन् । पुरुष जुनियर स्कीतर्फ भक्तपुरका अर्थसिंह बोहरा दोस्रो भए भने मुस्ताङका केसाङ गुरुङले तेस्रो भएका छन् ।

महिला अल्पाइन स्कीतर्फ काठमाडौँका आयुशी महर्जन दोस्रो हुँदा महिला जुनियर स्कीतर्फ महोत्तरीका मेन्काकुमारी आले दोस्रो भएकी छिन् । त्यस्तै काठमाडौँकी आशिया तामाङ तेस्रो भएकी हुन् ।

प्रतियोगिताको पुरुष र महिला सिनियर÷जुनियर च्याम्पियन बनेका स्की खेलाडीले स्वर्ण पदक पाएका छन् । पुरुष र महिलातर्फ दोस्रो स्थान हासिल गरेका स्की खेलाडीले रजत र तेस्रो स्थान हासिल गरेका खेलाडीले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष र महिलातर्फको सिनियर र जुनिएर विजेता खेलाडीले नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव विजय श्रेष्ठ र मुस्ताङ स्की सङ्घका अध्यक्ष सुरज गुरुङलगायत नेपाल स्की सङ्घका पदाधिकारी तथा सदस्यले पदक तथा प्रमाणपत्र प्रदान गरे। पाँचौँ राष्ट्रिय स्की प्रतियोगितामा सहभागी खेलाडी तथा कोचलाई नेपाल स्की सङ्घले प्रमाणपत्र प्रदान गरेको थियो ।

नेपाल स्की सङ्घका अनुसार यहाँको वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथ क्षेत्रमा आयोजित पाँचाँै संस्करणमा जुनियर खेलाडी १५ र सिनियर खेलाडी १० जनाको सहभागिता थियो ।

दुई वर्षपछि आयोजना भएको प्रतियोगिता सञ्चालनका लागि काठमाडौँबाट खेलाडी र अफिसियल टोली गरी ५० भन्दा बढी बुधबार मुस्ताङ आइपुगेका थिए । पाँचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि सङ्घले दुई दिनसम्म यहाँ खेलाडीलाई अभ्यास प्रशिक्षण तालिम दिएको थियो ।

तालिम प्रशिक्षणका लागि मुख्य प्रशिक्षकका रूपमा स्वराज श्रेष्ठसहित प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन र शारीरिक प्रशिक्षकका रूपमा बिमन्थ अधिकारी खटिएका थिए । सङ्घले योसँगै मुस्ताङमा लगातार चौथो पटक स्की प्रतियोगिता आयोजना गरेको हो । सङ्घले पहिलो स्की प्रतियोगिता २०१६ मा रसुवाको क्यान्जेन भ्यालीमा सुरु गरेको थियो ।

मुक्तिनाथस्थित सेताम्मे भिरालो हिउँले भरिएको पाखोमा स्की प्रतियोगिता आयोजना भएको मुस्ताङ स्की सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए । हिउँले भरिएको करिब २०० मिटर दूरीमा दुईवटा मोड राखेर स्की प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसपटक स्की खेलको विकास र प्रवर्द्धन गर्दै नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्की प्रतियोगितामा भाग लिन सकून् भन्ने उद्देश्यले १८ वर्षमुनिका जुनियर खेलाडीलाई पनि सहभागी गराइएको नेपाल स्की सङ्घले जनाएको छ ।

प्रतियोगिताको समापनमा सङ्घका अध्यक्ष श्रेष्ठले सङ्घले यातायातको सहजताका कारण पछिल्लो चार संस्करण मुस्ताङमा स्की प्रतियोगिता आयोजना गरेको बताए। स्की खेललाई राज्यले उपेक्षा गरेको उल्लेख गर्दै उनले अब यस प्रकारका हिउँमा खेलिने साहसिक खेलको प्रवर्द्धन गर्न स्थानीयस्तरको प्रयाससँगै राज्यका तीन तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

स्की सङ्घ मुस्ताङका अध्यक्ष गुरुङले हिउँमा खेलिने यस प्रकारको प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । यसले यहाँका व्यवसायलाई बेमोसमी घाटा कम गर्न सहयोग गर्ने उनले बताए।

सेताम्मे हिउँमा खुट्टामा लगाउने प्लेट बोर्ड जडान गरी चस्मा, लौरी, हेलिमेट लगायतका उपकरण लगाएर हिउँमा चिप्लेटी खेल्ने खेललाई स्की प्रतियोगिता भनिन्छ । मुस्ताङमा आयोजित स्की प्रतियोगितामा सहभागी खेलाडीहरु हिउँमा साहसिक खेल खेल्न पाउँदा गौरान्वित भएको बताएका छन् ।