झापा गोल्डकपको उद्घाटन खेलमा झापा–११ विजयी


झापा । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

घरेलु दर्शकको उल्लेख्य साथ पाएको झापा–११ ले सुरुआतदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लबले खेलको सुरुवातमा  उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेको थियो । तर, त्यसयता झापा–११ ले दुई गोल गर्दै जित सुनिश्चित गर्यो ।  

‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व विनोद बस्नेत स्मृति संस्करण अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरिन् । समारोहमा समाजसेवी स्व डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई एक लाखसहित सम्मान गरिएको छ । सो अवसरमा देवीगुठीका नाममा करिब १४ बिघा जग्गा प्रदान गरेका स्व राजवंशीको अर्धकदको शालिकसमेत अनावरण गरिएको छ ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित झापा गोल्डकपको विजेताले १५ लाख र उपविजेताले सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । 

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार प्रदान गरिनेछ । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत), एन पेनाङ फुटबल क्लब (मलेसिया) र आयोजक झापा–११ गरी १० टोली सहभागी छन् ।