काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने आयोजक ‘सुन्दरढोका साथी सेवा’ले जनाएको छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् । प्रतियोगिताको उपाधि विजेता टोलीले ट्रफिसहित ५० हजार रुपैयाँ, उपविजेताले ट्रफिसहित ४० हजार रुपैयाँ र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
आयोजक संस्थाकी कार्यकारी निर्देशक विजेता लुइँटेल अधिकारीले बहिरा फुटबल प्रतियोगितामार्फत बहिरा अपांगता भएका फुटबल खेलाडीको प्रतिभा उजागर गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागी हुने वातावरण बनाउन समेत प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् ।

प्रतिक्रिया