प्रधानमन्त्री कप क्रिकेटमा बैतडी लगातार विजयी


बैतडी।  सचिन भट्टको उत्कृष्ट बलिङको मद्दतमा बैतडी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनोटमा लगातार विजयी भएको छ ।  फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा बैतडीले  बझाङलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा बैतडीले दार्चुलालाई १२८ रनले हराएको थियो । 

बैतडीले आज पाएको ६१ रनको झिनो लक्ष्य ८ दशमलब ३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि नरेन भट्टले अविजित ३१ र गजेन्द्र बोहराले अविजित १६ रन बनाए । बलिङतर्फ बझाङका सुशील रावलले एक विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङको पारी १२ दशमलब दुई ओभरमा ६० रनमा समेटियो । बझाङका लागि अभिनाश सिंहले १९ र निराजन रावलले १६ रन बनाए । बलिङतर्फ बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ७ रन मात्रै खर्चिए । सचिन प्लेयर अफ दी म्याच समेत घोषित भए । यस्तै लोकेन्द्र चन्दले ३ विकेट लिए ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी छन् । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली चयन गरिनेछ ।