अभ्यास खेलमा नेपालद्वारा क्यानडा पराजित


काठमाडौँ।  आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । 

भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य  १८औँ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले ।

उनले २९ बलमा  ६ चौका र ती न छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।  बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६१ रनको योगफल बनाएको थियो । 

क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र तीन छक्का हाने । त्यस्तै श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८, कनवारपुल ताथगुरले २५ तथा जसकरण सिंहले २१ रन बनाए ।

  बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई/दुई  तथा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो ।