क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य


काठमाडौं । आइसीसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ ।

एमए चिदम्बरम स्टेडियम, चेपौक, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो । क्यानडाका नवनीत धालिवालले सर्वाधिक ४१ रनको योगदान दिए। यस्तै कंवरपाल तथगुरले २५, जसकरण सिंहले २१ रन बनाए भने निकोलस किर्टन १० रनमा आउट भए। श्रेयस मोव्वा भने ३८ रनमा अविजित रहे ।

नेपालका लागि सन्दिप लामिछाने र कुशल भुर्तेलले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुवात जितसँगै गरेको थियो । क्यानडाविरुद्ध पनि नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।