एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेड विजयी


काठमाडौँ । प्लानिङ ब्वाइज युनाइटेडले काँक्रेविहार क्लबलाई पराजित गर्दै एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा जित हासिल  गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेड काँक्रेविहार क्लबलाई ३–० गोलले पराजित गर्दै विजयी भएको हो । प्लानिङलाई जित दिलाउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले एक–एक गोल गरे ।

लिगमा प्लानिङ यो तेस्रो जितसँगै अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । प्लानिङले १० अङ्क जोडेको छ ।

यसैगरी आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय श्री भागवती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । 

लिगमा पाँच खेलबाट ११ अङ्क जोडेको आर्मी अङ्क तालिकाको चौथो स्थानमा छ । समान खेल खेलेको श्री भागवतीको चार अङ्क रहेको छ ।