‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक


कास्की। देशको पर्यटकीय पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

ठआयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिताको खेलाउँदैछ । आयोजकले आज सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछ । पुरुषतर्फ पहिलो खेल पाहुना टोली मालदिभ्स र नेपाल आर्मी क्लबकाबीच हुनेछ भने महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी क्लब आमनेसामने हुनेछन् ।

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच गरी ११ टिमको सहभागिता रहेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता रहेको छ ।

त्यस्तै महिलातर्फ तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता रहेको छ ।

छैटौँ संस्करणको च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाँचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।