मेलबर्न । अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहेकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । तर हारसँगै उनले दिएको सन्देश भने खेलभन्दा पनि गहिरो र भावुक रह्यो ।
म्याचपछिको पत्रकार सम्मेलनमा ओलिनिकोभाले लगाएको टी–सर्टमा युक्रेनी सेनामा रहेका एक सैनिककी छोरीद्वारा लेखिएको सन्देश उल्लेख थियो, जसमा भनिएको थियो, “मलाई युक्रेनी महिला र बालबालिकाको सुरक्षाका लागि तपाईंहरूको सहयोग चाहिन्छ, तर म यहाँ यसबारे खुलेर कुरा गर्न सक्दिनँ ।” ग्रान्ड स्लाम प्रतियोगिताका निर्देशिकाले प्रतिस्पर्धा स्थललाई राजनीतिक अभिव्यक्तिका लागि प्रयोग गर्न नदिने भएकाले उनले आफ्नो भावना व्यक्त गर्ने वैकल्पिक माध्यम रोजेको हो ।
रोड लेभर एरेनामा पहिलो चरणको खेलमा किजसँग ७–६ ९६०, ६–१ ले पराजित भए पनि ओलिनिकोभाले आफ्नो उपस्थितिलाई स्मरणीय बनाए । खेलपछि उनले युक्रेनी झण्डा फहराउँदै दर्शकको ताली र समर्थन स्वीकार गर्नुभयो । किजले समेत उनको प्रशंसा गर्दै हस्ताक्षर दिएको थियो ।
नवौँ वरीयताकी किज पहिलो सेटमा ४–० ले पछि पर्नुभएको थियो । ओलिनिकोभाको अपरम्परागत खेल शैली, विशेष गरी उच्च लोब सट (मूनबल) हरूका कारण किजलाई आधाररेखाभन्दा निकै पछाडि खेल्न बाध्य हुनुपरेको थियो । तर दोस्रो सेटमा अनुभव र लय सम्हाल्दै किजले खेल आफ्नो पक्षमा पारे ।
ओलिनिकोभाका अनुहार र शरीरमा देखिएका ट्याटुहरूबारे पनि चर्चा भयो । उनले धेरैजसो ट्याटु अस्थायी भएको र सजिलै हटाउन मिल्ने बताए । साथै, आफ्नो खेल शैलीले उच्चस्तरीय खेलाडीलाई पनि असहज बनाउन सक्ने उनको विश्वास छ ।
“मैले प्रोफेसनल करियर सुरु गर्दा म शीर्ष एक हजार, ५००, ३०० वा १०० भित्र पुग्न सक्दिनँ भनेर धेरैले भने”, विश्व वरियतामा ९२औँ स्थानमा रहेकी ओलिनिकोभाले भनिन्, “उनीहरूले मेरो खेल शैलीले प्रगति सम्भव छैन भने । तर मेरो सोच भने कोर्टमा आफ्ना ‘अनौठा’ शैली प्रयोग गर्दै पनि उत्कृष्ट खेलाडी बन्ने हो । आज मैले देखाएँ कि विश्वका उत्कृष्ट खेलाडीहरूका लागि पनि यो शैली असहज हुन सक्छ ।”
पत्रकार सम्मेलनमा उनले युक्रेन र आफ्नो परिवारसँगको भावनात्मक सम्बन्धलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरिन् । टी–सर्टमार्फत उनले सेनामा कार्यरत आफ्नो बुबाप्रति सम्मान र गर्व व्यक्त गरिन् ।
“उहाँ मेरो बाल्यकालदेखि नै सबैभन्दा ठूलो समर्थक हुनुहुन्छ”, ओलिनिकोभाले भनिन्, “म उहाँमाथि अत्यन्त गर्व गर्छु । उहाँ सेनामा सामेल भएपछि मेरो करियरमा ठूलो प्रेरणा मिल्यो र मैले २०० भन्दा बढी स्थान सुधार गरेँ । उहाँको सपना मलाई यो कोर्टमा देख्नु थियो र म उहाँलाई गर्व गराउन सबै गर्नेछु ।”
हार भए पनि उनका लागि दिनको सबैभन्दा भावुक क्षण खेलपछि आयो । टाढाबाट बुबाले पठाएको सन्देश सम्झिँदै उनले भनिन्, “उनले मलाई यो अद्भुत खेल भएको बताउनुभयो र मैले उनको सपना साकार गरेको भने । यी भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ । यस्तो अवस्थामा जीवनका प्राथमिकता झन् स्पष्ट हुन्छन् र म उहाँलाई अझ गर्व गराउन निरन्तर प्रयास गर्नेछु ।”

प्रतिक्रिया