साम्बाको घुँडामा चोट, सिजनभरिलाई ‘रेस्ट’


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) करिव एकवर्ष मैदान बाहिर हुने भएकी छन् ।

न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्सबाट अस्ट्रेलियामा निन्जा ए लिग खेलिरहेकी साम्बाको घुँडामा गम्भीर चोट लागेपछि उनी यो सिजन खेल्न नसक्ने भएकी हुन् । क्लबले साम्बाको इन्जुरी बारे जानकारी दिदै उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर हुने जानकारी दिएको छ ।

वेलिङटन फोनिक्सले एमआरआई स्क्यानपछि साम्बाको दाहिने घुँडामा ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट’ फुटेको देखाएको छ र उनी नौ देखि १२ महिनासम्म मैदान बाहिर रहने बताएको हो ।

साम्बालाई ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा चोट लागेको थियो । रोअरकी गोलकिपर क्लो लिंकनसँग साम्बा ठोक्किएकी थिइन् ।