भैरहवा (रुपन्देही) । भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’अन्तर्गत दुई दिवसीय ‘टेष्ट सिरिज’को उपाधि रुपन्देही–११ ले जितेको छ ।
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा भैरहवा सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई १०१ रनले पराजित गरेको हो । आइतबार रुपन्देहीले पहिलो इनिङमा १२२ रन बनाएको थियो भने आर्मीले दुई १५५ रन बनाएको थियो । यसक्रममा आर्मीका जीतेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहनुभएको थियो ।
आज भएको दोस्रो इनिङमा रुपन्देहीले २०५ रन बनायो, जसमा देव खनालले ७८ र प्रज्वल थापाले ‘नटआउट’ ४२ रन बनाउनुभयो । बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २–२ विकेट लिनुभयो । आर्मीले पहिलो दिन १६ रनले अग्रता लिए पनि दोस्रो दिन रुपन्देहीले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भयो । रुपन्देहीको इनिङ सुरु हुनुअघि आर्मीले ३३ रनले अग्रता लिएको थियो । आर्मीका प्रदीप पेलाले २१, जीतेन्द्रसिंह ठकुरीले १७ र प्रदीपसिंह चाइसिरले १६ रन बनाए ।
बलिङमा रुपन्देहीका सन्देश थापा र अजयकुमार चौहानले ३–३ तथा सुरज खड्का र विशाल भुसालले १–१ विकेट लिए । अजयकुमार चौहान ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गतका एकदिवसीय खेल अब मङ्गलबारदेखि हुनेछन् । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुबा स्वर्गीय पवनकुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका हुन् । प्रतियोगिता संयोजक प्रथम पराजुलीका अनुसार पुस २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–ट्वान्टी क्रिकेट सिरिज हुनेछ ।

प्रतिक्रिया