काठमाडौँ । नवौँ एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले कीर्तिपुरमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ तथा तेस्रो तथा अन्तिम सेट २५–२१ ले जित निकाल्यो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल सङ्घलाई पराजित गरेको थियो ।
त्यसैगरी सोही स्थानमा आजै भएको अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लब पनि प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको हो ।
पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले २५–२०, २५–१८, २३–२५, २५–१८ ले जित निकाल्यो । समूह ‘सी’ मा रहेको रुकुम पश्चिमले पहिलो खेलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० सेटले हराएको थियो ।

प्रतिक्रिया