सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण गरिने


सिरहा । सिरहाको लहान नगरपालिका–४ यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि लहान नगरपालिकाले आज बोलपत्र आह्वान गरेको छ । बोलपत्र आह्वानसँगै स्थानीय क्रिकेटप्रेमी उत्साहित भएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गत मङ्सिर ५ गते रङ्गशाला निर्माणस्थलको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट तीन करोड बजेटको व्यवस्था भइसकेको र प्राविधिक अध्ययनको काम भइरहेको जानकारी दिएका थिए । त्यसक्रममा उनले काम चाँडै सुरु हुने विश्वास व्यक्त गरेका थिए ।

“विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने छ । जसरी हुन्छ हामी काम अगाडि बढाउनेतर्फ केन्द्रित छौँ”, मन्त्री गुप्ताले भनेका थिए ।

यसैबीच, लहान नगरप्रमुख महेशप्रसाद चौधरीले क्रिकेट रङ्गशाला लहानको खेलकुद विकासका लागि महत्वपूर्ण परियोजना भएको बताए । उनले भने, “नगरपालिकाले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले रु दुई करोड विनियोजन गरेर टेण्डर आह्वान गरिएको हो ।”

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरले उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताए । मन्त्रालयको तीन करोड र नगरपालिकाको रु दुई करोडको लागतमा प्रारम्भिक काम सुरु हुने उनले बताए ।