‘दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता’ दोस्रो संस्करणको तयारी सुरु


काठमाडौँ । काठमाडौँमा आगामी जेठमा हुने ‘दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता’ को तयारी सुरु भएको छ । काठमाडौँ महानगरपालिका– २२ को आयोजनामा जेठ २९ र ३० गते हुने प्रतियोगिताको तयारी सुरु भएको शनिबार जानकारी दिइयो ।

प्रतियोगितामा पुरुषतर्फ छ तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थले जानकारी दिए ।

स्पोर्टस फिजिक्सतर्फ १७० सेमी भन्दामाथि तथा उक्त समूहसम्म दुई विधामा प्रतियोगीबीच भिडन्त हुनेछ । प्रतियोगितामा यस पटक महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुला प्रतिस्पर्धा गराइने कायस्थले बताए ।

प्रतियोगिताको मूल नारा ‘व्यायाम गरौँ, स्वास्थ्य हौँः स्वास्थ्यका लागि व्यायाम’ भन्ने तय गरिएको छ । प्रत्येक तौल समूहका विजेताले सबै प्रतिस्पर्धामा खेल्न पाउने व्यवस्था मिलाइएको पनि पूर्वअतिरिक्त महानिरीक्षकसमेत रहेका उपाध्यक्ष कायस्थले बताए ।

सबै प्रतिस्पर्धाका विजेतालाई ‘दोस्रो मिस्टर महानगर उपाधि’सहित नगद पाँच लाख, ट्रफि र ब्यानेट प्रदान गरिने छ । प्रतियोगितामा काठमाडौँ महानगरपालीकाभित्र बसोबास गर्ने नागरिकलाई मात्र सहभागी गराइने जनाइएको छ ।

प्रत्येक खेल समूहबाट प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीलाई पदकसहित क्रमशः एक लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।

यस्तै, स्पोर्ट फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा पहिलोदेखि पाँचौ स्थानसम्म हासिल गर्ने प्रतियोगीलाइ क्रमशः एक लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने वडाध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए ।

प्रतियोगितामा करिब दुई सय क्लबबाट छनौट भइ आउने १०० जना खेलाडीबीच प्रतिस्पर्धा हुने महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका लागि महासङ्घ र वडा नं २२ कार्यालयले ४५ लाख खर्च गर्न पूर्वानुमान गरेका छन् । वडाध्यक्ष महर्जनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारसँगै खेलकुद विधालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले भने, “वडाले सडकमा जलेको बिजुलीको चिम फेर्ने मात्र नभइ खेल मैदान र व्यायामका लागि बजेट छुट्याएको छ । खेलकुदले मानिसलाई सुन्दर, स्वास्थ्य र बनाउँछ । यसर्थ, खेलकुदमा जोड दिँदै आएको छौँ, त्यसैअन्तर्गत यो प्रतियोगिता हुँदैछ । त्यसको तयारीका लागि हामी जुटिसकेका छौँ ।”

पत्रकार सम्मेलनमा शारीरिक सुगठन विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र निर्णायक सहभागी थिए ।