दृष्टिविहीन क्रिकेट उपविजेतालाई काठमाडौँ महानगरपालिकाले जनही एक लाखसहित सम्मान गर्ने


काठमाडौं । काठमाडौँ महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही  एक लाख र टोलीका अन्य सदस्यलाई  ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्रबार कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

त्यसैगरी, बैठकमा निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयलाई निकासा दिने, विद्यालय र हाताको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म ‘भेरिएसन’ भएका विभिन्न पूर्वाधार योजनाको अनुमोदन गर्नेलगायत निर्णय भएका छन् ।

कामपाले नगरसभाको १८औँ अधिवेशन पुस ११ गतेका लागि आह्वानसमेत गरेको छ । आजकै बैठकले ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तोकेको हो ।

बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानवअधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा दुईवटा विषयमाथि छलफल र निर्णय भएको छ ।

श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि, २०८२, बाल कोष परिचालन मापदण्ड, २०८२ स्वीकृत गरिएको छ । रचनात्मक सहर सञ्जाल कार्यविधि संशोधनसहित स्वीकृत भएको छ । सहकारी ऐन, २०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ । बैठकमा महानगर प्रहरी ऐन संशोधन, महानगरवासीलाई निःशुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा छलफल भएको जनाइएको छ ।