चार टोली एनपिएलको च्याम्पियन बन्ने दौडमा


विनोदसिंह विष्ट, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । 

समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ । इलिमिनेटरमा काठमाडौँले लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनी सात खेलबाट आठ अङ्क जोडेर प्लेअफमा सुरक्षित भएको हो । यी सबै टोली नयाँ च्याम्पियन बन्ने दौडमा छन् । गत संस्करणको विजेता जनकपुर बोल्ट्स भने यसपटक प्लेअफमा समेत पुग्न सकेन । सुदूरपश्चिमलाई फाइनलमा पाँच विकेटले हराएको जनकपुरले पहिलो संस्करणको उपाधि हात पारेको थियो । 

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उपाधिको दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो । योसँगै सुदूरपश्चिम छ खेल जित्ने एकमात्र टोली बनेको छ । 

सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँनयाँ खेलाडी ‘म्याच विनर’ बनेका छन् । लिग चरणको पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराएको खेलमा अलराउण्ड प्रदर्शन गरेका विदेशी खेलाडी प्लेयर अफ द म्याच भएका थिए । उनले ५३ रन जोडे भने बलिङमा दुई विकेट हात पारेका थिए ।


पोखरा एभेञ्जर्सविरुद्धको दोस्रो खेलमा सुदूरपश्चिमले १८ रनको जीत निकालेको थियो । जसमा ६८ रनको योगदान गरेको टिमलाई जिताएका विदेशी खेलाडी जोस ब्राउन प्लेयर अफ द म्याच चुनिएका थिए । 

तेस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको थियो । जसमा कप्तान ऐरीले अलराउण्ड प्रदर्शन गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । ब्याटिङतर्फ ३९ र बलिङतर्फ चार विकेट हात पारेसँगै उनले प्लेयर अफ द म्याचको अवार्ड जिते । 

लगातार चौथो जीत दर्ता गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जीत हासिल गर्यो । जसमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । विकेट किपरसमेत रहेका भण्डारीले विपक्षी टिमका तीन खेलाडीलाई क्याचआउट समेत गराए । उनी उक्त दिनका प्लेयर अफ द म्याच भए । 

सुदूरपश्चिमले पाचौँ खेलमा जनकपुरलाई छ विकेटले हरायो । पहिलो संस्करणको फाइनलमा हारेको सुदूरपश्चिमले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको हो । सुदूरपश्चिमका तर्फबाट इशान पाण्डेले म्याच विनर पारी खेल्दै ५९ रन जोडे । अन्तमा उनलाई नै प्लेयर अफ द म्याचको पुरस्कारसमेत दिइयो । 

छैटौँ खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले स्तब्ध पार्यो । यो खेलमा ७५ रन बनाएका विदशी खेलाडी क्रिस लेन प्लेयर अफ द म्याच भए । 

लिग चरणको सातौँ तथा अन्तिम खेलमा भने विरानगरसँग छ विकेटले हारेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ । 

सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा पनि यसपटक उपाधि जित्नेमा ढुक्क देखिएका छन् । उनले भने, “गत वर्षको पनि उपविजेता टोली हौँ । यसपटक हामी जसरी पनि उपाधि जित्ने लक्ष्यमा छौँ । सबै खेलाडी सक्रियताका साथ खेलमा लागेका छन् । कुनै एक खेलाडीको भरमा हामी छैनौँ । जुन कुरा देखिसकेको पनि छ । लिग चरणमा जितेका खेलहरूमा पनि हाम्रो टिमका फरकफरक खेलाडी म्याच विनर बनेका छन् ।”

विराटनगर किङ्ग्स

सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर लिग चरणका पाँच खेल जितेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । गत वर्ष प्लेअफमा पुग्न नसकेको विराटनगरले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । योसँगै उसले ट्रफी जित्ने योजना बनाएको छ । 

लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौँ खेलमा पराजित भएको थियो । पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगरले पनि बलियो दाबेदारी पेस गरेको छ । 

पहिलो खेलमा पोखरालाई ५३ रनले हराएपछि लोकेश बमको चर्चा चुलियो । व्यक्तिगत ७२ रन जोडेका लोकेश प्लेयर अफ द म्याचसमेत चुनिए । काठमाडौँमाथि पाँच विकेटको जीत निकालेको दोस्रो खेलमा मर्चेन्ट डे लाङ्गेले उत्कृष्ट खेल्दै महत्त्वपूर्ण दुई विकेट हात पारेपछि उनी प्लेयर अफ द म्याच भए ।

तेस्रो खेलमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच भए । जनकपुरविरुद्धको उक्त खेलमा सन्दीपले चार विकेट हात पार्दा टिमले नौ रनको जित दर्ता गरेको थियो । विराटनगर चौथो खेलमा चितवनसँग ४८ रनले र छैटौँ खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो । 

पाँचौँमा कर्णाली याक्सलाई ती विकेटले हराएको खेलमा बसिर अहमदले ६२ रन पारी खेल्दै म्यान अफ द म्याच चुनिए । सातौँ खेलमा सुदूरपश्चिममाथि छ विकेटको जीत दर्ता गरेको विराटनगरका फाफ डु प्लेसिस प्लेयर अफ द म्याच घोषित भएका हुन् । 

कप्तान लामिछानेका अनुसार विराटनगर पनि कुनै एक खेलाडीका भरमा नरहेकाले उपाधि जित्नेमा आशावादी छ । उनले भने, “हामी कुनै एक खेलाडीको भरमा छैनौँ । सबै खेलाडीले आ–आफ्नो मेहनतसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । म्याच विनर पनि फरकफरक खेलाडी देखिएकाले एकअर्काप्रतिको विश्वास बढेको छ ।” 

काठमाडौँ गोर्खाज

पहिलो संस्करणमा नेट रनरेटमा पछि पर्दै प्लेअफको स्वाद चाख्न नपाएका करण केसीको कप्तानीमा रहेको काठमाडौँ यसपटक भने सक्रियताका साथ प्रदर्शन गरिरहेको छ । लिग चरणका सातमध्ये पाँच खेल जितेर प्लेअफमा पुगेको काठमाडौँ च्याम्पियन बन्ने अडानमा छ । 

काठमाडौँले पहिलो खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदा दोस्रोमा सुदूरपश्चिमसँग २९ रन र तेस्रोमा विराटनगरसँग पाँच विकेटले पराजित भयो । त्यसपछि पुनरागमन गर्दै सबै खेलमा विजयी भयो । 

काठमाडौँले चौथो खेलमा लुम्बिनीलाई २२ रन, पाचौँमा चितवनलाई ५३ रन, छैटौँमा कर्णाली याक्सलाई छ विकेट र सातौँमा पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  

प्लेअफमा पुगेपछि टिमको जोडबल च्याम्पियन जित्नेमा रहेको कप्तान केसीले बताएका छन् । उनले भने, “प्लेअफमा पुगिसकेपछि अबका खेल राम्रो गर्दै च्याम्पियन कसरी बन्ने भन्नेमा ध्यान केन्द्रित छ । लिग चरणमा भएका कमीकमजोरीलाई सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्य राखेका छौँ ।”

लुम्बिनी लायन्स

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी चार खेल जितेर प्लेअफमा पुगेको छ । सुरुको खेलमा चितवनलाई छ विकेटले हराएर राम्रो सुरुआत गरेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हार्यो । दोस्रोमा कर्णालीसँग नौ विकेटले, तेस्रोमा काठमाडौँसँग २२ रनले, चौथोमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भयो । 

लुम्बिनीले पाचौँ खेलपछि लगातार जीत निकालेर प्लेअफमा स्थान बनायो । पाचौँमा पोखरालाई तीन विकेट, छैटौँमा विराटनगरलाई पाँच विकेटले र सातौँमा जनकपुरमाथि चार विकेटको विजय हात पा¥यो ।

प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान पौडेलले आफ्नो टिमलाई उपाधि जित्न कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, “प्लेअफमा पुगेका चारवटै टोलीमध्ये लुम्बिनी बलियो देख्छु, त्यसैले हामीले उपाधि जित्नेमा विश्वस्त छौँ । हामी कसैसँग पनि डराएर खेल्दैनौँ ।”

प्रतियोगिताको पहिलो क्वालिफायर यही मङ्सिर २३ गते दिउँसो ४ः०० बजे सुदूरपश्चिम र विराटनगरबीच हुनेछ । जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले काठमाडौँ र लुम्बिनीबीच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नेछ । 

इलिमिनेटर खेल मङ्सिर २४ गते दिउँसो ४ः०० बजे हुनेछ । मङ्सिर २५ गते दिउँसो ४ः०० बजे हुने दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछ । प्रतियोगिताको उपाधि भिडन्त भने मङ्सिर २७ गते दिउँसो ३ः३० बजे हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स सहभागी छन् ।