अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै


इन्डोनेसिया । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ ।

स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तरराष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो ।

सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपालको सहभागिता समूह चरणको खेलमा मात्र सीमित बनेको देखिन्छ ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ नेपालभन्दा बलियो टोली भएता पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताइन् ।

यस सिरिजअन्तर्गत यही मङ्सिर १० गते भएको पहिलो इन्डोनेसियाविरुद्धको खेलमा नेपाल पराजित भएको थियो । खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी यता चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो ।