जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा


काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगमा प्लेअफमा पुगेको छ । शनिबार जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम लिग चरणमा दुई खेल खेल्नु अगावै प्लेअफमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । विनोदले ४९ बलमा ४२ रन जोडे । यस्तै हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १४६ रनको लक्ष्य दिएको थियो ।