काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक दर्ता गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी रहँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।
विरानगरका बसिरले ४३ बलमा तीन चौका र छक्काको मद्दतले अविजित ६२ रनको योगदान गरे । यसैगरी नारायण जोशीले २५, सहिल पटेलले १९ र साम हेज्लेटले १६ रन बनाए । बसिर र नारायणले ६९ रनको साझेदारी गरेका थिए ।
कर्णालीका लागि गुल्शनकुमार झा र कप्तान सोमपाल कामीले दुई–दुई तथा पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट लिए । चौथो जितसँगै विराटनगरले पाँच खेलमा आठ अंक जोडेको छ ।
तेस्रो पराजय व्यहोरेको कर्णालीको चार खेलबाट दुई अंक छ । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

प्रतिक्रिया