प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुवात


बैतडी ।  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करणअन्तर्गत शनिबार भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुवात गरेको छ ।

जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)माथि ४३ रनको जित दर्ता गर्‍यो । एनआरवाइसी यो हारसँगै लिग चरणबाटै बाहिरिएको छ । उसको यो दोस्रो हार हो । एनआरवाइसी यसअघि शुक्रबार त्रिपुरा क्रिकेट क्लबसँग १८६ रनले पराजित भएको थियो ।

जनसेवाले दिएको १८२ रनको लक्ष्य पछ्याएको एनआरवाइसी १८ दशमलव दुई ओभरमा १३८ रनमा ‘अलआउट’ भयो । जसमा निशान्त जोशीले अर्धशतकीय पारि खेल्दै ५९ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । खेलका ‘प्लेयर अफ द म्याच’ समेत भएका जनसेवाका नरेन्द्र चन्दले तीन विकेट लिए भने भरत चन्द र कमलेश महरले दुई/दुई विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवा २८ ओभरमा १८१ रनमा समेटियो । जनसेवाका राजेश चन्दले ४४ र नरेन्द्र चन्दले ४० रनको पारि खेले । एनआरवाइसीका भूपेन्द्र चन्दले चार र सुशील भाटले तीन विकेट झारे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

यस्तै ‘म्यान अफ दी सिरिज’लाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’लाई रु एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।