पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा घरेलु टोली पोखरा निन्जाजले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार बेलुकी सम्पन्न रोमान्चक खेलमा पोखरा लुम्बिनी लाभाससँग ३-२ को सेटमा पराजित भएको हो । हारसँगै पोखराको फाइनल पुग्ने सम्भावना कठिन बनेको छ ।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलको पहिलो सेटमा लुम्बिनीले २५-१३ अंकसहित सहज जित निकालेको थियो । तर दोस्रो र तेस्रो सेटमा पोखराले शानदार पुनरागमन गर्दै खेलमा फर्कियो । दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको पोखराले तेस्रो सेट २५-१० ले जित्यो । तर रोमाञ्चक बनेको चैथो सेट २८-२६ ले जित्दै २-२ को बराबरी गरेको लुम्बिनीले अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
यस्तै आजै भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएको हो । काठमाडौंले पहिलो सेट २६-२४ ले जित्दा दोस्रो सेट २५-२३ ले मधेशलाई सुम्पिएको थियो । तर तेस्रो र चौथो सेट क्रमशः २५-२२ र २५-१९ ले जित्दै काठमाडौंले खेल आफ्नो पक्षमा पारेको हो ।
अब भोली हुने खेलमा कर्णाली यश्विस र काठमाडौं स्पाइकर्स तथा ललितपुर क्विन्स र लुम्बिनी लाभास भिड्नेछन् ।

प्रतिक्रिया