साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकियो


काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसँग १– १ गोलको बराबरीमा रोकिएको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो ।

कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १–० को अग्रता बनायो । भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा सोनाम याङचिनले क्लोज रेन्जबाट होल गरिन्। योसँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।

यसअघि नेपाल भारतसँग पहिलो खेलमा ७–० ले हार्दा भारतसँगको दोस्रो खेलमा ५–० को हार बेहोरेको थियो । यो प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपाल बङ्गलादेशसँग पहिलो खेलमा ३–० र दोस्रो खेलमा ४–१ले पराजित भएको थियो ।

भुटानलाई भने नेपालले पहिलो खेलमा २–१ ले हराएको थियो । नेपालले ६ खेलमा मात्र ४ अंक जोड्यो। नेपाल ४ खेलमा पराजित भयो।