काठमाडौँ । हिमालयन इन्टरनेसनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ ।
हिमालयन इन्टरनेसनल एकेडेमीद्वारा सोमबार आयोजित कार्यक्रममा टोखा नगरपालिका–५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसी डोजाङका प्रमुख रन्जितबहादुर डङ्गौराले सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापालाई सम्मान गरे ।
चौथो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगितामा सुभासले स्वर्ण तथा तुषारले कांस्यपदक जितेका थिए । यसैगरी दक्षताले मदन भण्डारी राष्ट्रिय तेक्वान्डो प्रतियोगिता तथा दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा कांस्यपदक हात पारेकी थिइन् ।
दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा एलेक्साले स्वर्ण, आभासले कांस्य र दिप्सनले काँस्य जितेका थिए । दिपनले काठमाडौँ जिल्लास्तरीय बृहत् खेलकुद प्रतियोगितामा कांस्य प्राप्त गरेका थिए ।

प्रतिक्रिया