पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पोखरामा हुने भएको छ ।
पोखरा महानगरपालिका मुख्य प्रबर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने भएको हो । अवार्डका लागि बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रबद्र्धन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाको तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन् । अवार्ड कार्यक्रमको प्रबर्द्धकका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रममै उल्लेख गरेको नगर प्रमुख धनराज आचार्यले बताए ।
पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उनले बताए ।
स्पोर्टस् अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको नगर प्रमुख आचार्यले बताए । पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उनले जोड दिए ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताए । पोखरा भ्रमण वर्ष २०२५ को प्रवद्र्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उनले बताए ।
कार्यक्रममा खेलकुदको विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुद प्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिने छ ।



प्रतिक्रिया