डेविस कपमा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली मलेसिया जाने


काठमाडौँ । डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घलेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा रहेका छन् । समूह ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, कीर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी आठ राष्ट्र दुई समूहमा बाँडिएर खेल्ने छन् ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस सङ्घ, तदर्थ समितिका संयोजक मनोहरदास मूललगायतले शुक्रबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामनासहित बिदाइ गरे ।