उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा नेपाल ४–२ गोलले पराजित


काठमाडौं । नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना समाप्त भएको छ । शनिबार राति भएको छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको हो ।

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । पेनाल्टीमा नेपाल उज्वेकिस्तानसँग ४–२ ले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको हो । नेपालका लागि गीता राना, सविता रानामगरको प्रहार सफल भयो । कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगरको प्रहार विफल भयो ।

पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो । खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो ।