खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको निधन


काठमाडौँ । वरिष्ठ खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको निधन भएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक मध्येका एक श्रेष्ठको आइतबार राति उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो । ५५ वर्षीय श्रेष्ठ लामो समयदेखि विरामी भएर पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।

स्वर्गीय श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समय खेलकुद पत्रकारिता गर्ने क्रममा क्षितिज अरुणले फोटो पत्रकारको रुपमा थुप्रै मिडियाहरुमा काम गरेका थिए । उनी नेपाल ओलम्पिक संग्रहालयका संस्थापक पनि थिए ।

त्यस्तै उनले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गरी खेलकुद सम्वन्धि विभिन्न पुस्तकहरु प्रकाशन गर्नुभएको छ । पछिल्लो समय उनी नेपाल स्टिक स्पोट्र्स सङ्घका सचिव तथा विजनेश डाटा नेपाल प्रालिका प्रवन्ध निर्देशक थिए । उनले नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी पनि गरेका थिए । स्वर्गीय श्रेष्ठका श्रीमती र एक छोरी छन् ।